पूर्वअर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक क्षेत्रको ठुलो निकाय भएकोले बजेटले उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले बजेटका केही नीतिगत कुराहरू राम्रो भए पनि सार रूपमा आलोचना आवश्यक रहेको बताए । केही सुझाव र आलोचना स्वाभाविक नै भएको उनको भनाइ छ ।
संरचना, अर्थतन्त्र विस्तार, लगायतका विषयहरू विगतको निरन्तरता भए पनि सकारात्मक कुरालाई नकार्न भने नसकिने उनले बताए । सरकारले आर्थिक वृद्धिदर र जनताको जीवनमा पर्ने प्रभावका विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता औँल्याए ।
उनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुने तर्फ ध्यान दिन सरकारलाई सुझाव दिए । निर्यात भन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नका लागि र सन्तुलनमा लैजानका लागि पनि सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताए ।



















