अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता रन्जित राज वन्तलाई प्रतिष्ठित ‘प्रोफेशनल एचिप्मेन्ट अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ। आइतबार मेलबर्नमा आयोजित एक भव्य समारोहबीच वन्तलाई सम्मान गरिएको हो।समारोहका प्रमुख अतिथि अष्ट्रेलियाको भिक्टोरिया राज्यका महाबाणिज्य दूत निराजन गौली र अष्ट्रेलियाका वरिष्ठ कानुनविद् तथा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोतानेले संयुक्त रूपमा वन्तलाई सम्मान गरेका थिए। कार्यक्रममा नेपाली तथा अष्ट्रेलियन समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। यो कार्यक्रमको आयोजना सिजन मिडियाले गरेको हो।

रन्जित राज वन्त लामो समयदेखि अष्ट्रेलियामा व्यवसायिक क्षेत्रमा सक्रिय हुनुका साथै नेपाली समाजका विविध सामाजिक तथा सांस्कृतिक अभियानमा योगदान दिँदै आएका व्यक्ति हुन्। उनी नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको एडमन्सन पार्क एबं बाडिया नेप्लिज कम्यूनिटीका पूर्व अध्यक्ष समेत हुन्। त्यस्तै, उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा विभिन्न पद सम्हाल्दै समाजसेवामा निरन्तर सक्रियता जनाएका छन्।व्यवसायिक जीवनमा पनि वन्तले उल्लेखनीय सफलता हासिल गरेका छन्। अष्ट्रेलियाको चर्चित **रियल स्टेट कम्पनी ‘स्टेट एजेन्ट्स’**का निर्देशकका रूपमा उनले नेपाली समुदायलाई मात्र नभई अष्ट्रेलियन बजारमा समेत विश्वसनीय छाप छोड्न सफल भएका छन्। उनको इमानदार व्यवसायिक छवि र पारदर्शी कार्यशैलीले उनलाई समुदायमा थप लोकप्रिय बनाएको छ।

सम्मान ग्रहण गर्दै वन्तले आफूलाई यो उपलब्धिले अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए। उनका शब्दमा:
“यो सम्मानले मलाई अझै सामाजिक कार्यमा समर्पित भएर लाग्न प्रेरणा र हौसला दिएको छ। व्यवसाय र सामाजिक अभियानमा लाग्दा नेपाली समाजबाट पाएको साथ र माया साच्चै मेरो लागि उल्लेखनीय रह्यो।”उनले अष्ट्रेलियामा मात्र नभई नेपालसँग समेत गाँसिने सामाजिक र मानवीय अभियन्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।मेलबर्नमा सम्पन्न उक्त कार्यक्रममा वन्तको जीवनयात्रा, व्यवसायिक योगदान र सामाजिक सेवाबारे प्रशंसा गरिएको थियो। उपस्थित पाहुनाहरूले वन्तलाई मेहनती, इमानदार र समर्पित व्यक्तित्वका रूपमा वर्णन गर्दै उनको उदाहरणले युवा पुस्तालाई विदेशमा पनि समाज र राष्ट्रका लागि योगदान दिन सकिने प्रेरणा दिने बताए।





















