गुरुङ समुदायको मौलिक कथा बोकेको चलचित्र ‘प्युरी’ बैशाख ११ गते बाट प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिनमै उत्कृष्ट प्रतिक्रिया पाएको छ।काठमाडौँको गंगबुस्थित इन्फिनिटी मुभिजमा विशेष प्रदर्शन गरिएको ‘प्युरी’ हेरेर बाहिरिने दर्शकहरूको प्रतिक्रिया अत्यन्त भावुक देखिन्थ्यो। कतिपय दर्शकका आँखा रसाएका थिए भने कतिपयले “हसाउँदै-रुवाउँदै कथा अघि बढेको पत्तै पाइएन” भन्दै खुलेर प्रशंसा गरे।पहिलो दिन दुई वटा हल ‘हाउसफुल’ हुनुका साथै दर्शकहरूको उपस्थितिले चलचित्रप्रतिको उत्साह प्रस्ट देखिएको थियो। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको समेत उपस्थिति थियो भने नायक धिरेन शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम निकै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।प्रदर्शनअघि आयोजकले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै हलमा आउने हरेक दर्शकलाई खादा लगाएर स्वागत गरेका थिए, जसले कार्यक्रमलाई थप विशेष बनाएको थियो।‘प्युरी’ गुरुङ समुदायको जीवनशैली, परम्परा र सांस्कृतिक मूल्यमा आधारित चलचित्र हो। यसले ग्रामीण परिवेशदेखि समकालीन सामाजिक संरचनासम्मका विविध पक्षलाई संवेदनशील र कलात्मक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी गुरुङ भाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने लक्ष्य चलचित्रले बोकेको छ।

चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, धिरेन शाक्य, उमेश गुरुङ, उषा खड्की, कविता आले, राजु गुरुङ, किरण गुरुङ, नवराज जंग थापा लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ। बाल कलाकारहरू क्रिस्टिना गुरुङ, आयुषा गुरुङ र दिपेश गुरुङले पनि प्रभावशाली प्रस्तुति दिएका छन्।संगीतमा डिका गुरुङ र सुदीप सागरको उत्कृष्ट संयोजन रहेको छ भने छायांकन खेम थापाले गरेका छन्। उमेश गुरुङ र रोशन श्रेष्ठको संयुक्त निर्देशनमा बनेको यस चलचित्रको कथा तथा संवाद मनबहादुर गुरुङ र उमेश गुरुङले तयार पारेका हुन्। निर्माता किरण गुरुङ, नवराज जंग थापा र तृष्टराज गुरुङ तथा सह-निर्माता रबिना गुरुङ रहेको ‘प्युरी’ले गुरुङ भाषिक चलचित्रप्रतिको बढ्दो आकर्षणलाई थप ऊर्जा दिएको छ।

निर्माण टिमका अनुसार, “यो चलचित्र केवल मनोरञ्जन मात्र नभई हाम्रो समुदायको कथा र पीडालाई विश्वसामु चिनाउने माध्यम हो।” गीत र ट्रेलर सार्वजनिक भएपछि टिकटक, फेसबुक र युट्युबमा पनि चलचित्रको व्यापक चर्चा भइरहेको छ।बैशाख ११ पश्चात १२ गतेको प्रदर्शन पछि ‘प्युरी’को व्यावसायिक भविष्य मात्र होइन, नेपाली चलचित्र बजारमा क्षेत्रीय तथा भाषिक चलचित्रको प्रभावलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।





















