काठमाडौं । नेपाल–कोरिया उद्यमी व्यवसायी संघले काठमाडौं उपत्यकाका विभिन्न व्यस्त चोक तथा दुर्घटना सम्भावित क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गर्दै आएको छ। केही समयदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको यस अभियानमा संघका सदस्यहरू स्वयं सडकमा खटिएर पैदलयात्रीलाई ट्राफिक नियमबारे जानकारी गराउनुका साथै ट्राफिक प्रहरीलाई समेत सहयोग गर्दै आएका छन्।संघले विशेषगरी पैदलयात्रीको चाप बढी हुने स्थानहरूमा जेब्रा क्रसिङको प्रयोग, आकाशे पुलबाट सडक पार गर्ने, ट्राफिक संकेतहरूको पालना गर्ने तथा सुरक्षित यात्रासम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेको छ। अभियानअन्तर्गत बालबालिका, ज्येष्ठ नागरिक तथा सडक पार गर्न कठिनाइ हुने व्यक्तिहरूलाई विशेष सहयोग समेत प्रदान गरिएको छ।

May be an image of one or more people, street and text

संघका प्रतिनिधिहरूका अनुसार अभियानको सुरुवाती चरणमा सर्वसाधारणलाई ट्राफिक नियमबारे बुझाउन केही चुनौती भए पनि अहिले नागरिकहरूमा सकारात्मक परिवर्तन देखिन थालेको छ। धेरैले ट्राफिक नियमको पालना गर्न थालेका छन् भने अभियानप्रति सहयोग र समर्थन पनि बढ्दै गएको बताइएको छ।जेठ २९ गते बिहान ७:४० बजेदेखि एकान्तकुना चोकमा सञ्चालन गरिएको अभियानमा नेपाल–कोरिया उद्यमी व्यवसायी संघका सदस्यहरूले ठूलो संख्यामा पैदलयात्रीलाई ट्राफिक नियमको महत्वबारे जानकारी गराएका थिए। सो अवसरमा ट्राफिक प्रहरीसँग समन्वय गरी सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्य गरिएको थियो।

May be an image of motorcycle, scooter, road and text

सडकमा यात्रा गर्ने सर्वसाधारणले संघको यस अभियानको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यस्ता सन्देशमूलक र जनचेतनामूलक कार्यक्रम देशभरका संघ–संस्थाले सञ्चालन गर्न सके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने धारणा व्यक्त गरेका छन्। “हरेक संघ–संस्थाले यस्ता अभियान सञ्चालन गर्ने हो भने देशलाई व्यवस्थित र सभ्य बनाउन धेरै समय लाग्दैन,” एक पैदलयात्रीले प्रतिक्रिया दिए।नेपाल–कोरिया उद्यमी व्यवसायी संघ दुई दशकभन्दा बढी समय दक्षिण कोरियामा बिताएका उद्यमी प्रेमकुमार गुरुङको संयोजकत्वमा गठित तदर्थ समितिको नेतृत्वमा सञ्चालन भइरहेको छ। संघले कोरियाबाट फर्किएका उद्यमी तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान, सामूहिक लगानी प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलताको विकास गर्ने लक्ष्य राखेको छ।संघका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि ट्राफिक सचेतना, सामाजिक सेवा तथा जनहितका विविध कार्यक्रम सञ्चालन गरिनेछ। सुरक्षित सडक, सचेत नागरिक र व्यवस्थित समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

May be an image of one or more people and text that says 'RESERVE टार प्रा.ल.//४२ प्रा.ल. ४१८१४२ dgs NKBEA 0会 VOLUNTEER INTEIR'

तपाईको प्रतिक्रिया