बिराटनगर , मंसिर १५— पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो ।सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको उहाँले बताउनुभयो । कार्यालयले विराटनगरको रानी रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जानकारी दिएको छ ।
अवैध रूपमा भित्रिने जोखिमयुक्त पशु तथा पशुजन्य सामग्री रोकथाम, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै कार्यालयले आयातकर्ता तथा निर्यातकर्ता उद्योगसँग नियमित समन्वय गरिरहेको छ । प्रतिवेदनअनुसार अवैध सामग्री नष्ट गर्ने अभियान यस त्रैमासिकमा झनै सशक्त रूपमा अघि बढाइएको छ । कार्यालयका टोलीले पहिलो त्रैमासिकमा ३२ पटक अनुगमन गरी ठूलो परिमाणका अवैध पशुजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमध्ये २४० केजी ब्रोलर कुखुरा ,३२९ वटा बोइलर कुखुरा , सेतो अण्डा २९ क्रेट , पहिचान नखुलेको आलो मासु १०४ केजी , प्याकेज सि फिस ३० केजी , एकुरियम माछा १० पिस , फ्रोजन फिस ७३५ केजी , माछाको सिद्रा २० केजी नष्ट गरेको छ भारत–नेपाल सीमाबाट भित्रिने पशुचौपायाको स्वास्थ्य परीक्षण, संक्रमण जोखिम रोकथाम तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको उल्लेख गरिएको छ । साथै सो अवधिमा आयातित कच्चा पदार्थको गुणस्तर जाँचका लागि नमुना संकलन गरी प्रयोगशाला परीक्षण पनि गरिएको छ । कार्यालयले सीमा क्षेत्रमा अवैध सामग्री नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षासम्बन्धी निकायसँग समन्वय निरन्तर भैरहेको छ ।





















