मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ। पार्टीकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।शर्माले विज्ञप्ति जारी गर्दै पार्टीभित्र इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको, आर्थिक अनियमितता मौलाएको र विधि–विधानअनुसार गतिविधि नभएको आरोप लगाएकी छन्। यस्ता अवस्थाका कारण पार्टीमा बसिरहन नसकेको स्पष्ट पार्दै उनी अब नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ।
![]()
यसैबीच, रास्वपाकी अर्की संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला) ले पनि पार्टीको साधारण सदस्यबाट राजीनामा दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पार्टीभित्र विधि, विधानविपरीतका गतिविधि, चाप्लुसीवाद, आर्थिक अनियमितता तथा सक्षम महिला र युवाको उपेक्षा बढेको आरोप लगाएकी छन्।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मधेश प्रदेशबाट उम्मेदवार बनेकी भुर्तेलले आफू पार्टीको स्थापनाकालदेखि निस्वार्थ योगदान गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय पार्टीको निर्णय, कार्यशैली र पद्धति प्रारम्भिक मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभव गरेको बताएकी छन्। “यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

मधेश प्रदेशमा पार्टीका दुई संस्थापक नेतृहरूको एकैसाथ बहिर्गमनले रास्वपाको संगठनात्मक अवस्था र आन्तरिक व्यवस्थापनबारे प्रश्न उठाएको छ। यता, पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।





















