काठमाडौं । उदयमान गायक तथा सर्जक रायन बश्यालको स्वर, शब्द, लय र निर्देशनमा तयार गरिएको भाबुक लोकगीत ‘प्रियतम प्रियसी जुनु’ सार्वजनिक भएको छ। रायन बश्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान तान्न सफल भएको छ।
गीतमा रायन बश्यालसँगै लोकप्रिय तथा चर्चित गायिका मेलिना राईको सुमधुर आवाज समावेश छ। गीतका शब्द रायन बश्याल र सूर्यकुमार परियारको सहकार्यमा तयार भएका हुन् भने लय सिर्जना पनि रायनकै रहेको छ। गीतको एरेञ्जिङ विश्वास नेपालले गरेका हुन्। प्रिस्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई किन्द किरण र राजेश रिमालले निर्माण गरेका हुन्।भिडियो निर्देशनसमेत रायनले आफैँ गरेकाले गीतका दृश्यमा कथानक, भावनात्मक प्रस्तुतीकरण र भिजुअल शैली अत्यन्तै जीवन्त देखिएको छ। बुद्ध थापाको छायांकनमा बनेको भिडियोमा मोडलका रूपमा रायन बश्याल र संचिता बुलाखेले अभिनय गरेका छन्। गीतको कथालाई नृत्यमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सञ्जय विश्वकर्माले नृत्य निर्देशन गरेका छन्।गीत ‘प्रियतम प्रियसी जुनु’ ले प्रेम, आत्मीयता, बिछोड र सम्झनाका भावनालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ। मन छोएको धुन, अर्थपूर्ण शब्द र भावनात्मक दृश्यले गीतलाई अझ प्रभावशाली बनाएको छ। प्रेममा पर्ने उत्थान–पतन, मनको तडप र आत्मीय जोडलाई गीतले अत्यन्त सरल तर गहिरो शैलीमा दर्शाएको छ।

उदाउँदो पुस्ताका प्रतिभावान कलाकार रायन बश्यालको सिर्जनात्मक क्षमता यस गीतमार्फत झनै उजागर भएको छ। गीत सार्बजनिक भएको केही घण्टामै दर्शक–श्रोताबाट उत्साहजनक प्रतिक्रिया बटुलेको छ। सामाजिक सञ्जालमा पनि गीतले राम्रो चर्चा पाइरहेको छ भने धेरैले रायनको प्रस्तुती र मेलिना राईको स्वरलाई गीतको मुख्य आकर्षणका रूपमा प्रशंसा गरिरहेका छन्।





















