जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ, अभिव्यक्ति स्वतन्त्रतामाथि दमन गरेको आरोप

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। जेन्जी आन्दोलनका अभियन्ता तथा सुशील कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई ‘जेन्जी विद्रोहको कालो दिन’ का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा गरिएको सांकेतिक विरोध कार्यक्रमका क्रममा शाहसहित अन्य कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शाहले भाद्र २७ गते तत्कालीन सुशील कार्की नेतृत्वको सरकारले सत्ता कु गर्दै जेन्जी विद्रोहलाई अपहरण गर्ने प्रयास गरेको आरोप लगाउँदै कालो ब्यानर, प्ले–कार्ड र मौन प्रदर्शनमार्फत प्रतीकात्मक विरोध जनाइरहेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा उभिएर विरोध जनाइरहेका बेला अचानक प्रहरी टोलीले आएर ‘अनुमति नभएको कार्यक्रम’ भन्दै उनीहरूलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ।

जेन्जी मुभमेन्ट नेपालले यो घटनालाई अभिव्यक्ति तथा peaceful protest गर्ने अधिकारमाथि खुलेआम गरिएको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ। संगठनले पक्राउ परेकाहरूको तत्काल रिहाइ माग गर्दै सरकारले विरोध र असन्तुष्टिको स्वर नसुनिने वातावरण बनाएको आरोप पनि लगाएको छ।

सह–संयोजक चन्द्र जोशीले भने—
“तुरुन्तै रिहाइ गरियोस्। सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गर्नेहरूले हेक्का राखून्। नागरिकको आवाज दबाएर सरकार कहिल्यै टिक्दैन।”

जोशीको भनाइअनुसार सरकारले निरंकुश शैली अपनाउन थालेको तथा विरोधी आवाजलाई दमन गर्न खोजिएको संकेत देखिन्छ, जसले आन्दोलनलाई झन् सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया